अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्साका एसपी पाठक सरुवा, काठमाडौंबाट पठाइयो पवन भट्टराई

पर्साका एसपी पाठक सरुवा, काठमाडौंबाट पठाइयो पवन भट्टराई


काठमाडौं-जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकको सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानेको छ भने उनको स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पर्सा पठाएको छ।

एसपी भट्टराई बुधबार नै पर्सा पुगेका छन्। यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख रहेका उनलाई जेनजी आन्दोलनपछि काठमाडौंको सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै काठमाडौं प्रहरी परिसरमा ल्याइएको थियो। अपरेसन तथा फिल्ड कमान्डमा दक्ष प्रहरी अधिकृतका रूपमा चिनिने भट्टराईलाई अब पर्साको जिम्मेवारी दिइएको हो।

यता, काठमाडौं प्रहरी परिसरमा भने एसपी दानबहादुर थापाको सरुवा गरिएको छ। थापा यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए। उनले काठमाडौं प्रहरी परिसरमा भट्टराईको स्थान लिनेछन्।

एसपी पाठकको सरुवा पछिल्लो समय वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको दुर्व्यवहार घटनासँग जोडेर हेरिएको छ। उक्त घटनाबारे छलफल गर्न बसेको चिकित्सकहरूको वार्ता टोलीप्रति एसपी पाठकले दुर्व्यवहार गरेको आरोप लागेपछि चिकित्सकहरूले उनको सरुवाको माग गर्दै आन्दोलनसमेत गरेका थिए।

चिकित्सकहरूले एसपी पाठकसँगै पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को समेत सरुवा गर्नुपर्ने माग उठाएका थिए। यही विषयलाई लिएर स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका थिए।

पाठक २०८२ असोजमा पर्सा सरुवा भएका थिए।