काठमाडौँ-पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित अन्य दिवंगत आरोहीहरूको शव आज क्याम्प-१ सम्म ल्याउने तयारी गरिएको छ।
उद्धार अभियानमा संलग्न ग्राउन्ड टिमका अनुसार पहिलो चरणमा हिमपहिरोमा ज्यान गुमाएका आरोहीहरूको शव घटनास्थलबाट क्याम्प-१ सम्म झारिनेछ। त्यसपछि सोमबार शवहरूलाई जापानी क्याम्पसम्म ल्याउने योजना बनाइएको छ।
मौसम र हिमालको अवस्था अनुकूल रहेमा जापानी क्याम्पबाट हेलिकप्टरमार्फत शव तथा उद्धार टोलीलाई थप सुरक्षित स्थानमा सारिनेछ। त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी दिवंगत आरोहीहरूको शव सम्मानपूर्वक स्वदेश फर्काइने जनाइएको छ। साथै अभियानमा संलग्न सम्पूर्ण उद्धारकर्मीको सुरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता भएको उल्लेख गर्दै हरेक निर्णय टोलीको सुरक्षालाई केन्द्रमा राखेर लिइएको जनाएको छ।
उद्धार अभियानका क्रममा नेपाल सरकार, पाकिस्तान सरकार, पाकिस्तानस्थित नेपाली दूतावास, नेपालस्थित पाकिस्तानी दूतावास, पाकिस्तानी सेना, अल्पाइन क्लब अफ पाकिस्तान तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै अभियान सफल बनाउन निरन्तर सहयोग, विश्वास र प्रार्थनाको आवश्यकता रहेको पनि टोलीले जनाएको छ ।
बिहीबार पाकिस्तानको कराकोरम हिमशृङ्खलाअन्तर्गत पर्ने ८ हजार ४७ मिटर अग्लो ब्रड पिकमा गएको हिमपहिरोमा निर्मल पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोली बेपत्ता भएको थियो। उक्त टोलीमा ६ जना नेपाली पर्वतारोही सहभागी थिए।
शनिबार एलिट एक्सपिडले निर्मल पुर्जाको निधन भएको पुष्टि गरेको थियो। दुर्घटनामा उनका विश्वस्त सहयात्री पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पासहित अन्य आरोहीको पनि ज्यान गएको पुष्टि भइसकेको छ। हाल घटनास्थलमा उद्धार टोलीले कठिन हिमाली भूगोल र प्रतिकूल मौसमबीच शव उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।


प्रतिक्रिया