जनकपुरधाम-संयुक्त हिन्दू मोर्चा र सरकारबीच आइतबार जनकपुरधाममा पुनः वार्ता सम्पन्न भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा जनकपुरस्थित यात्री निवासमा भएको वार्तामा यसअघि भएको १३ बुँदे सहमतिलाई थप स्पष्ट पार्दै केही नयाँ विषय समेटेर १८ बुँदे समझदारीमा मौखिक सहमति भएको बताइएको छ।
वार्ताका क्रममा संयुक्त हिन्दू मोर्चाले आफ्नो मागपत्र गृहमन्त्री गुरुङलाई बुझाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार राति भएको १३ बुँदे सहमतिका केही अस्पष्ट विषयहरूबारे छलफल गरी स्पष्टता ल्याउने काम गरिएको हो।
उनले सहमतिपत्रको लेटरप्याड र हस्ताक्षर सम्बन्धी विषयमा आन्दोलनरत पक्षले उठाएका जिज्ञासाको गृहमन्त्रीले जवाफ दिएको बताए। गृहमन्त्रीले मिडियामा आएका विभिन्न विषयबारे पनि स्पष्ट पारेपछि आन्दोलनरत पक्ष सन्तुष्ट भएको र आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको उनले जानकारी दिए।
वार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै हिन्दू सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले केही बुँदामा संशोधन तथा स्पष्टता गरिएको बताए। उनका अनुसार मोर्चाले उठाएका मागहरू सम्बोधन गर्ने विषयमा गृहमन्त्रीले सकारात्मक आश्वासन दिएका छन्। साथै भविष्यमा कुनै पनि अवस्थामा गोली चलाउने अवस्था सिर्जना नहुने प्रतिबद्धता पनि गृहमन्त्रीबाट व्यक्त भएको उनले दाबी गरे।
यससँगै पछिल्ला दिनहरूमा धनुषा केन्द्रित आन्दोलन र सरकारबीच देखिएको तनाव वार्तामार्फत समाधानको दिशातर्फ उन्मुख भएको जनाइएको छ।


प्रतिक्रिया