काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि शङ्का नभए पनि कार्यशैली र काम गर्ने ढङ्गमाथि गम्भीर प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद झाले वर्तमान सरकारप्रति विश्वास रहेको उल्लेख गर्दै नेतृत्वले आफ्ना कमजोरी पहिचान गर्न सक्नुपर्ने बताए। ‘सरकारमाथि कुनै शङ्का छैन, कुनै प्रश्न छैन। तर कता-कता ढङ्ग नपुगेको हो कि भन्ने लाग्छ। आफूलाई के थाहा छैन भन्ने कुरा नेतृत्वले बुझ्नुपर्छ,’ सांसद झाले भने।
सांसद झाले राज्य प्रणालीमा सुधार ल्याउन सरकारलाई आफ्नो कार्यशैली परिवर्तन गर्न सुझाव दिएका छन्। उनले सरकारलाई प्रश्न गर्दै भने, ‘यदि सरकारलाई के थाहा छैन भन्ने नै थाहा छैन भने कसरी प्रभावकारी रूपमा शासन सञ्चालन हुन्छ ?’
गुगलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पिचाईको भनाइ उद्धृत गर्दै उनले आफूलाई सबै थाहा छ भन्ने मानसिकताले विकास र सुधारको प्रक्रियालाई अवरुद्ध गर्ने बताए। समाज शिक्षित नभएसम्म राजनीति बलियो हुन नसक्ने र राजनीति कमजोर भए लोकतन्त्र, सामाजिक सन्तुलन तथा सामाजिक न्यायसमेत कमजोर हुने उनको तर्क थियो।
मधेसको पछिल्लो अवस्थाप्रति सरकार सचेत हुनुपर्ने भन्दै उनले त्यहाँको असन्तुष्टि अझै समाप्त नभएको चेतावनी दिए। ‘मधेसमा आगो निभेको हो, दाउरा निभेको छैन,’ उनले भने, ‘त्यसैले सरकार अझै संवेदनशील हुनुपर्छ।’
सांसद झाले मधेसका समस्या र त्यहाँ विद्यमान असन्तुष्टिप्रति सरकार अझ गम्भीर हुनुपर्ने बताए। सीमा क्षेत्रमा गरिब नागरिकमाथि कडाइ गर्ने तर एयरपोर्टबाट आउने सम्पन्न वर्गप्रति फरक व्यवहार देखिने गरेको आरोप लगाउँदै उनले सरकारलाई प्रश्न गरे, ‘बोर्डरमा २५ रुपैयाँको चिप्स खोसिन्छ, तर एयरपोर्टबाट महँगा सामान ल्याउनेहरूलाई सहज छुट दिइन्छ। गरिब र धनीलाई किन फरक व्यवहार ?’ उनले प्रश्न गरे।
निर्वाचित प्रतिनिधिहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिनुपर्नेमा जोड दिँदै उनले ‘गाडीको कालो सिसा हटाएजस्तै अब कालो चस्मा पनि हटाउनुपर्छ’ भन्दै जनभावना बुझ्ने संस्कृतिको आवश्यकता औँल्याए।
अर्थतन्त्र सुधारका लागि मधेस, प्रवासी नेपाली र निजी क्षेत्रलाई सरकारको साझेदार बनाउनुपर्ने उनको धारणा थियो। भारतको उदाहरण दिँदै उनले प्रवासी नेपालीको ठूलो लगानी आकर्षित गर्न नागरिकता, भिसा तथा लगानीसम्बन्धी नीतिमा लचिलोपन आवश्यक रहेको बताए।
निजी क्षेत्रमाथि बढ्दो त्रासको वातावरण रहेको दाबी गर्दै सांसद झाले सरकारलाई अर्को प्रश्न पनि गरे, ‘प्रहरी देख्दा सुरक्षित महसुस गर्नुपर्ने व्यवसायीहरू किन छापा र धरपकडको डरमा बाँच्न बाध्य छन् ?’ निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै आर्थिक गतिविधि विस्तार गर्न सकिने उनको भनाइ थियो।


प्रतिक्रिया