काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सरकार र प्रधानमन्त्री परिवर्तन भए पनि मन्त्रालयको कार्यशैली तथा कर्मचारीतन्त्रमा अपेक्षित सुधार नहुँदा सांसदहरूको धेरै समय मन्त्रालय धाउनमै बित्ने गरेको गुनासो गरेकी छन्।
साउन २६ गते मंगलबारको प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्न गणपूरक संख्या नपुगेपछि बैठक स्थगित भएको विषयमा सांसदहरूको आलोचना भइरहेका बेला तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसदहरू सदनमा उपस्थित हुन नसक्नुका पछाडि मन्त्रालय धाउनुपर्ने बाध्यता पनि रहेको बताएकी हुन्।
उनले सांसदहरू जनताका गुनासा र समस्याको समाधान खोज्न दिनभर विभिन्न मन्त्रालयका ढोका धाउनुपर्ने अवस्था रहेको उल्लेख गरेकी छन्। उनका अनुसार सरकार र प्रधानमन्त्री फेरिए पनि मन्त्रालयमा काम गर्ने कर्मचारी तथा सचिवहरूको कार्यशैलीमा खासै परिवर्तन नआउँदा एउटै कामका लागि पटक-पटक मन्त्रालय धाउनुपर्ने अवस्था छ।
‘सांसदहरू सबै मन्त्रालयको ढोकामा कतिखेर मन्त्री र सचिवलाई भेट्ने अनि गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ, अनि पुग्छ त सदनमा संख्या ?’ उनले प्रश्न गरेकी छन्।
सांसद तामाङले आफूहरूले तीन दिनमा काम गरिदिने भनिएको विषयसमेत तीन महिना बितिसक्दा पूरा नहुने र त्यसका लागि दिनमा पटक–पटक मन्त्रालय धाउनुपर्ने अवस्था रहेको बताएकी छन्।
‘सांसदहरू सबै मन्त्रालयको ढोकामा कति खेर मन्त्री र सचिवलाई भेट्ने र गुनासो पोख्ने भनेर लाइनमा हुनुहुन्छ, अनि पुग्छ त सदनमा संख्या ?’ सांसद तामाङले भनिन्, ‘सरकार फेरिए पनि प्रधानमन्त्री नयाँ आए पनि काम गर्ने कर्मचारीले हो मन्त्रालयका सचिवहरूले अब हजुर तीन दिन सक्छौँ हामीले भनेको काम तीन महिना बितिसक्दा पनि दिनमा तीनपल्ट त मन्त्रालय नै काम होला कि तैपनि भनेर धाउनुपर्छ।’
उनका अनुसार जनताको गुनासो र समस्या सबैभन्दा पहिले निर्वाचित जनप्रतिनिधि अर्थात् सम्बन्धित क्षेत्रका सांसदसम्म आइपुग्छ। ती समस्या समाधानका लागि सांसदहरूले सम्बन्धित कार्यालय तथा मन्त्रालयमा फोन गर्दा कहिले फोन नउठ्ने, कहिले व्यस्त हुने र फोन उठे पनि ‘मन्त्रालय नै आएर मन्त्रीलाई भन्नुस्’ भन्ने जवाफ पाउने गरेको उनको भनाइ छ।
मन्त्रालय पुगेपछि पनि मन्त्रीहरू अन्य बैठकमा व्यस्त रहेको भन्दै ‘वेटिङ रुम’मा कुर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरेकी छन्। एउटा मन्त्रालयमा बल्लतल्ल काम सकेपछि शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधारलगायत अन्य मन्त्रालयका कामका लागि फेरि धाउनुपर्ने बाध्यता रहेको उनले बताएकी छन्।
‘एउटा मन्त्रालयमा बल्लतल्ल गुनासो त सकियो, अर्को शिक्षा, स्वास्थ्य, कानुन, भौतिक पूर्वाधार इत्यादिका गुनासा लिएर सम्बन्धित मन्त्रालय जान अझै बाँकी नै छ,’ उनले लेखेकी छन्।
यसरी मन्त्रालय धाउँदा दिनभरको समय बित्ने र साँझ पर्दासम्म सांसदहरूको व्यक्तिगत तथा पारिवारिक जिम्मेवारीसमेत प्रभावित हुने तामाङको भनाइ छ। ‘५ बजिसक्यो, झिमिक्क रात पर्छ, छोराछोरी स्कुलबाट ल्याउने समय पनि सम्झिनै पर्यो,’ उनले उल्लेख गरेकी छन्।
सांसद तामाङले संसद्मा विपक्षी सांसदहरूले एउटै विषयमा पटक–पटक लामो समय बोल्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएकी छन्। सदनमा तथ्यपरक र ठोस विषय उठाएर कार्यान्वयन गर्न सकिने खालका निर्देशन दिनुपर्ने उनको भनाइ छ।
‘एउटा प्रतिपक्षले माइक हात पायो भने बोलेको बोल्यै हो। सभामुखज्यूले समय सकियो माननीयज्यू भन्दा पनि मान्नु हुँदैन,’ उनले लेखेकी छन्, ‘नयाँ कुरा केही छैन, खाली एउटा कुरा दोहोर्याको दोहोर्याई, अनि लेन्दी र बोरिङ हुँदैन त ?’
उनले सांसदहरू सदनमा उपस्थित हुनुपर्ने विषयलाई अस्वीकार नगरे पनि जनताको कामका लागि सांसदहरू मन्त्रालय र सरकारी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने संकेत गरेकी छन्। साथै, संसद्को प्रभावकारिता बढाउन समयको सदुपयोग र तथ्यमा आधारित बहस आवश्यक रहेको उनको धारणा छ।



प्रतिक्रिया