काठमाडौँ-काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको परोपकारी भावना आत्मसात् गर्दै नागरिक केन्द्रित लोककल्याणकारी राज्य निर्माणमा जुट्नुपर्ने बताएकी छन्।
नेपाल संवत् ११४७ को अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले शङ्खधर साख्वालाई नेपाल संवत्का प्रवर्तकका रूपमा मात्र नभई समाजप्रतिको उत्तरदायित्व र परोपकारका प्रतीकका रूपमा स्मरण गर्नुपर्ने बताइन्। व्यक्तिगत सम्पत्ति र सुखसुविधा आर्जन गर्नुभन्दा समाजको हित, नागरिकको दुःख निवारण र सकारात्मक परिवर्तनका लागि योगदान गर्नु नै व्यक्तिको वास्तविक महानता भएको उनको भनाइ थियो।
राज्य कर सङ्कलन र प्रशासन सञ्चालन गर्ने संयन्त्रमा मात्र सीमित हुन नहुने उल्लेख गर्दै डंगोलले विपन्न, सीमान्तकृत, पिछडिएका तथा दुःखमा परेका नागरिकको हित सुनिश्चित गर्नु राज्यको प्रमुख दायित्व भएको बताइन्। लोककल्याणकारी राज्यको केन्द्रमा आम नागरिक हुनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्य, शिक्षा, न्याय र सामाजिक अधिकार सुनिश्चित गर्न नागरिकमैत्री नीति, कानुन तथा कार्यक्रम आवश्यक रहेको धारणा राखिन्।
उनले काठमाडौँ महानगरपालिकाले पनि लोककल्याणकारी राज्यको भावना र जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गरिरहेको बताइन्। नागरिकको सहजताका लागि महानगरले स्वास्थ्य क्षेत्रमा ‘बाइक एम्बुलेन्स’ सेवा, निःशुल्क कानुनी सहायता कार्यक्रम तथा सहरलाई उज्यालो बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिइन्।
तिहारसम्म अँध्यारा स्थानमा सडकबत्ती जडान गर्ने लक्ष्यसहित टेन्डर प्रक्रिया अघि बढाइए पनि प्राविधिक कारणले यसपटक पूरा हुन नसकेको उनले बताइन्। आगामी दिनमा झिलिमिली सहर बनाउने अभियानलाई निरन्तरता दिने उनको भनाइ थियो।
यसैगरी, महानगरपालिकाले श्री गणेश र श्री भैरवको निवास निर्माण प्रक्रिया अघि बढाएको उनले जानकारी दिइन्। जीवित देवी कुमारीसँगै जीवित देवता श्री गणेश र श्री भैरवको पनि एउटै स्थानमा निवास हुनुपर्ने स्थानीय समुदायको लामो समयदेखिको माग सम्बोधन गर्न निर्माण कार्य अघि बढाइएको उनले बताइन्। उक्त निवास निर्माणका लागि मङ्सिर ५ गते पूजाआजासहित शिलान्यास गर्ने तयारी रहेको पनि उनले जानकारी दिइन्।



प्रतिक्रिया