अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार श्रेष्ठलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप: महेश बस्नेत

पत्रकार श्रेष्ठलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप: महेश बस्नेत

समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु उचित होइन


काठमाडौं-नेकपा एमालेका सचिव महेश बस्नेतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै समाचार सरकारको विपक्षमा प्रकाशित भएकै आधारमा पत्रकारलाई गिरफ्तार गर्नु उचित नभएको बताएका छन्।

श्रेष्ठ पक्राउ परेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै सचिव बस्नेतले पत्रकार श्रेष्ठका कतिपय शैली र पत्रकारिताप्रति आफू पनि सहमत नरहेको स्पष्ट पारे। तर, सरकारले चित्त नबुझ्ने समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको उनको भनाइ छ।

‘रातारात गिरफ्तार गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले गरेको हस्तक्षेप गम्भीर र आपत्तिजनक छ,’ सचिव बस्नेतले भनेका छन्। लोकतन्त्रमा आलोचनालाई दमन गरेर नभई तथ्य, तर्क र कानुनी प्रक्रियामार्फत जवाफ दिनुपर्ने उनले उल्लेख गरेका छन्।

पत्रकार श्रेष्ठलाई ललितपुरको कुसुन्तीबाट उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो। प्रहरीले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा काठमाडौं प्रहरी परिसरबाट अदालतबाट पक्राउ पुर्जी लिइएको जनाएको छ।

२०८३ साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो। उक्त सामग्रीमा आफ्नो नाम जोडिएको भन्दै एक युवतीले व्यक्तिगत गोपनीयता हनन भएको दाबी गर्दै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन्।

जाहेरीपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ। सम्बन्धित युवतीले भिडियो सन्देशमार्फत आफ्नो तस्बिर गलत तरिकाले जोडेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको र प्रकाशित सामग्रीमा कुनै सत्यता नरहेको दाबीसमेत गरेकी छन्।

श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन्। उनी प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्षसमेत हुन्।