अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै


काठमाडौं- कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि आज (बिहीबार) स्वदेश फर्किँदै छन् । झन्डै ६ महिनापछि नेपाल फर्किन लागेका देउवा बिहीबार मध्याह्न १२ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको कांग्रेस नेताहरूले बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा परी घाइते भएपछि देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए । सिंगापुरमा उपचारपछि थप उपचारका लागि चैत ७ गते हङकङ पुगेका उनी त्यसपछि थाइल्याण्ड हुँदै नेपाल फर्किन लागेका हुन् ।

देउवा स्वदेश फर्किएपछि कांग्रेसको आन्तरिक गतिविधिमा सक्रिय हुने तयारीमा छन् । उनलाई स्वागत गर्न कांग्रेसको संस्थापनइतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने भएका छन् ।

राष्ट्रिय भेला तयारी समितिका संयोजक डा. शशांक कोइरालाको नेतृत्वमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइरालासहित पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूको टोली विमानस्थल पुग्ने तयारीमा रहेको प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिएका छन् ।

देउवाको स्वागतका लागि संस्थापनइतर समूहले विमानस्थलमा बाजागाजा तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गर्ने तयारी गरेको छ । सांस्कृतिक समिति संयोजक विद्या तिमिल्सिनाका अनुसार देउवालाई बाजागाजासहित सांस्कृतिक झाँकीका साथ स्वागत गरिनेछ ।

स्वदेश फर्किएलगत्तै देउवाले सञ्चारमाध्यमसँग साक्षात्कार गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ ।

यसैबीच, कांग्रेसको संस्थापनइतर समूहले शुक्रबारदेखि काठमाडौंमा तीनदिने राष्ट्रिय भेला आयोजना गर्दैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलाको उद्घाटन शुक्रबार दिउँसो १ बजे हुने बताइएको छ ।

साउन २९ देखि ३१ गतेसम्म चल्ने भेलामा करिब पाँच हजार नेता तथा कार्यकर्ताको सहभागिता रहने आयोजकको अनुमान छ । देउवाले शुक्रबार हुने भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेता मीन विश्वकर्माले जानकारी दिएका छन् ।

भेलामा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।