काठमाडौँ-जनआस्था साप्ताहिकका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेको घटनापछि प्रहरीले आज बिहानै ललितपुरको सानेपास्थित जनआस्था साप्ताहिकको कार्यालयमा छापा मारेको छ।
बिहीबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौँले ललितपुर प्रहरीसँगको सहकार्यमा छापा मारेको हो।
जनआस्थाका कर्मचारीका अनुसार बिहान कार्यालय पुगेको प्रहरी टोलीले सम्पादक श्रेष्ठको कार्यकक्ष तथा समाचारकक्षमा प्रवेश गरी आवश्यक जाँच तथा अनुसन्धान गरेको छ।
पत्रकार किशोर श्रेष्ठलाई गएराति प्रहरीले पक्राउ गरेको थियो।
अनुसन्धानको सिलसिलामा कार्यालयमा रीतपूर्वक खानतलासी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए ।
श्रेष्ठविरुद्ध दीपिका सिंहले जाहेरी दिएकी थिइन्। प्रहरीले उनीविरुद्ध वैयक्तिक गोपनीयता सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । वैयक्तिक गोपनीयताको कसुरमा प्रयोग गरिएका कम्प्युटर लगायतका सामाग्री नियन्त्रणमा लिइएको एसपी थापाले बताए ।
साउन २५ मा जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो । श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्बिर सार्वजनिक गरेका थिए ।
पक्राउपछि राति करिब १ बजे पनि प्रहरीको टोली श्रेष्ठको घरमा पुगेर छापा मारेको थियो। श्रेष्ठ पक्राउ परेको विरोधमा नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकारसम्बद्ध संस्थाका प्रतिनिधि तथा पत्रकारहरूले मध्यरातमै प्रहरी कार्यालयमा पुगेर धर्ना दिएका थिए।
समाचार प्रकाशनको विषयलाई लिएर पत्रकार पक्राउ गरिएको भन्दै पत्रकार महासंघसहित पत्रकारसम्बद्ध संस्थाहरूले घटनाप्रति आपत्ति जनाउँदै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन्।
बिहीबार बिहान पुनः जनआस्था साप्ताहिकको कार्यालयमै प्रहरी पुगेपछि घटनाले थप चर्चा पाएको छ। प्रहरीले कार्यालयमा के–कस्ता सामग्री तथा कागजात जाँच गरेको हो भन्नेबारे भने विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।


प्रतिक्रिया