अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार किशोर श्रेष्ठसँग परिवार, पत्रकार र वकिललाई समेत प्रहरीले भेट्न दिएन

पत्रकार किशोर श्रेष्ठसँग परिवार, पत्रकार र वकिललाई समेत प्रहरीले भेट्न दिएन


काठमाडौं-वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई भेट्न पुगेका कानुनी प्रतिनिधि, परिवारका सदस्य तथा पत्रकारसम्बद्ध विभिन्न संघ-संगठनका पदाधिकारीलाई प्रहरीले भेट्न नदिएको आरोप लागेको छ।

पत्रकार श्रेष्ठलाई भेट्न अधिवक्ता टिकाराम भट्टराईसहितका कानुन व्यवसायी जिल्ला प्रहरी परिसर पुगे पनि प्रहरीले तत्काल भेटघाटको अनुमति नदिएको जनाइएको छ। त्यस्तै, भेटका लागि पुगेकी उनकी श्रीमतीलाई समेत श्रेष्ठसँग सम्पर्क गर्न नदिएको बताइएको छ।

श्रेष्ठसँग भेट गर्न प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टर नेपालका अध्यक्ष कमल गिरी, महासचिव मनोज घर्ती तथा नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेललगायत पत्रकार संगठनका प्रतिनिधि प्रहरी कार्यालय पुगेका थिए। उनीहरूलाई पनि प्रहरीले श्रेष्ठसँग भेट्न रोक लगाएको प्रेस सेन्टर नेपालका महासचिव घर्तीले जानकारी दिएका छन्।

यसबीच प्रहरीले श्रेष्ठको निवास तथा कार्यालयबाट ल्यापटपलगायत केही विद्युतीय सामग्री नियन्त्रणमा लिएको जनाएको छ। घटनाप्रति पत्रकारसम्बद्ध विभिन्न संघ–संगठनले आपत्ति जनाउँदै श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेका छन्।

श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकार संगठनहरूले काठमाडौं प्रहरी परिसर अगाडि धर्ना तथा विरोध प्रदर्शन जारी राखेका छन्। पक्राउ प्रकरणले पत्रकारिता क्षेत्र र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी बहसलाई थप चर्काएको छ।