अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा सांसद अमरेश सिंहको आरोप: ‘सार्वजनिक संस्था र सरकारी निकायमाथि हस्तक्षेप भइरहेको छ’

रास्वपा सांसद अमरेश सिंहको आरोप: ‘सार्वजनिक संस्था र सरकारी निकायमाथि हस्तक्षेप भइरहेको छ’


काठमाडौँ-सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले देशभरका सार्वजनिक संस्था तथा सरकारी निकायमाथि हस्तक्षेप भइरहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै सांसद सिंहले सेना, प्रहरी तथा कर्मचारीको ‘हुर्मत लिने’ काम भइरहेको बताएका हुन्। उनले सांसदहरूका अभिव्यक्तिका कारण संसद्कै गरिमा र प्रतिष्ठामाथि प्रश्न उठिरहेको टिप्पणी गरेका छन् ।

‘देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना, प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ,’ सिंहले लेखेका छन्, ‘सांसदहरूको वक्तव्य यस्तो छ कि सम्मानित संसदकै बेइज्जती भइरहेको छ।’

सिंहले व्यापारीहरूको धरपकडका कारण व्यवसायीहरू त्रसित बनेको समेत बताएका छन् । उनका अनुसार पछिल्ला गतिविधिले निजी क्षेत्रलाई समेत असुरक्षित महसुस गराएको छ।

त्यस्तै, उनले सरकारको परराष्ट्र नीतिमाथि पनि प्रश्न उठाएका छन्। नेपालको अन्तर्राष्ट्रिय विश्वसनीयता घटिरहेको दाबी गर्दै सिंहले परराष्ट्र नीति प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन्।

‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।

सांसद सिंहले सरकारका पछिल्ला गतिविधिले देशलाई समृद्धि र सुशासनतर्फ लैजाने हो कि राज्यलाई थप पछाडि धकेल्ने हो भन्ने प्रश्नसमेत गरेका छन्।

‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ ? सोच्ने बेला भएको छैन ?’ उनले प्रश्न गरेका छन्।

सत्तारुढ दलकै सांसदबाट सरकारका गतिविधिमाथि यस्तो सार्वजनिक टिप्पणी आएपछि सरकारको कार्यशैली, सार्वजनिक संस्थामाथिको हस्तक्षेप र सुशासनका विषयमा थप बहस सुरु हुने देखिएको छ।