अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई हराउन खनिएको खाल्डोमा विरोधीहरू आफैं फसे: अध्यक्ष ओली

एमालेलाई हराउन खनिएको खाल्डोमा विरोधीहरू आफैं फसे: अध्यक्ष ओली


झापा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको आन्दोलनलाई हुल्लडबाजीका माध्यमबाट सत्ता कब्जा गर्ने कुत्सित प्रयास भएको दाबी गरेका छन्।

झापामा आयोजित पार्टीको जिल्ला भेला तथा जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश जलाएर गरिएको उक्त आन्दोलनलाई फागुन २१ गतेको निर्वाचनमार्फत वैधता दिने काम भएको आरोप लगाए।

प्रतिनिधिसभा पुनःस्थापनाको मागमा अन्य राजनीतिक दलहरूले एमालेलाई मात्र असर पर्ने ठानेर साथ नदिएको उल्लेख गर्दै अध्यक्ष ओलीले चुनावलाई एमालेका लागि खनिएको खाल्डो ठानेर बसेका दलहरू आफैँ त्यसमा फसेको दाबी गरे।

निर्वाचनका क्रममा एमालेमाथि चौतर्फी हमला भएको र सहज रूपमा हिँडडुल गर्ने वातावरणसमेत नरहेको उनको भनाइ थियो। चुनावमा पराजय भोग्नुपरे पनि एमाले कायर र भगौडाहरूको पार्टी नभएको स्पष्ट पार्दै अध्यक्ष ओलीले एउटा मोर्चामा हार्दैमा समग्र युद्ध नहारिने बताए। ‘एक गोल खाएका छौँ, अब १० गोल फर्काउन कसैले रोक्न सक्दैन,’ भन्दै अध्यक्ष ओलीले उच्च मनोबलका साथ अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए।

अध्यक्ष ओलीले देशमा प्रतिगमन भइरहेको दाबी गर्दै त्यसलाई सच्याउन र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न आन्दोलन तथा जागरण अभियान आवश्यक रहेको बताए। प्रतिगमन सच्याउन एमालेले आन्दोलनको मोर्चासमेत खोल्नुपर्ने उनको भनाइ थियो।

आगामी प्रदेश निर्वाचनलाई लक्षित गर्दै ओलीले हरेक वडामा ५१ प्रतिशतभन्दा बढी मत ल्याउने गरी टोल, बस्ती र घरघरमा पुगेर संगठन विस्तार गर्न कार्यकर्तालाई आग्रह गरे। नागरिक, विशेषगरी महिला मतदाताले यसपटक गलत ठाउँमा मतदान गरेको उल्लेख गर्दै उनले जनता र पार्टी दुवैबाट भएका कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए।

देशमा मधेसी–पहाडी, दलित–गैरदलित, नयाँ–पुराना तथा धर्मका नाममा साम्प्रदायिक हिंसा र विभाजन फैलाउने तत्व सक्रिय रहेको आरोप लगाउँदै ओलीले त्यस्ता गतिविधि रोक्नुपर्ने बताए। विभिन्न नाममा भइरहेको साम्प्रदायिकताबाट देशलाई जोगाउने काम एमालेले गर्दै आएको उनको दाबी थियो।

राजतन्त्रकालदेखि नै जेल, यातना र कठिन परिस्थितिको सामना गर्दै एमाले सिद्धान्तमा अडिग रहेको उल्लेख गर्दै ओलीले देशको विकास र सार्वभौमसत्ताको रक्षाका लागि पार्टी दृढ भएर अघि बढ्ने प्रतिबद्धता जनाए।

आफ्नो नेतृत्वको सरकारले गरेका विकास निर्माणका कामको चर्चा गर्दै उनले हुलाकी, मदन भण्डारी र पुष्पलाल राजमार्ग निर्माणदेखि ताप्लेजुङ र हुम्लाजस्ता दुर्गम क्षेत्रमा सडक तथा कालोपत्रे पुर्‍याउने काम एमालेकै नेतृत्वमा भएको दाबी गरे।

महाभूकम्पका बेला २८ हजार अस्थायी घर निर्माण गरी पीडितलाई हस्तान्तरण गरिएको, १३ हजार विद्यालय पुनर्निर्माण गरिएको तथा कोभिड–१९ को संकटमा एमालेका कार्यकर्ताले स्वयंसेवकका रूपमा उदाहरणीय काम गरेको पनि ओलीले स्मरण गरे।