काठमाडौं-नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना मागप्रति सरकारले बेवास्ता गरेको भन्दै सोमबारदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनीको काम–कारोबार बन्द गर्ने घोषणा गरेको छ।
सङ्घका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत रोक्का हुनेछ। यससँगै नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, श्रमिकको उडान तथा वैदेशिक रोजगारीसम्बन्धी सरकारी एवं प्रशासनिक काम–कारोबारसमेत प्रभावित हुनेछन्।
सङ्घले यसअघि चरणबद्ध आन्दोलनअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा समाप्त भएपछि सोमबारदेखि सम्पूर्ण काम ठप्प पार्न लागिएको सङ्घले जनाएको छ।
सङ्घका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भएका श्रमिकलाई उडान गराउन एक साताअघि नै सबै म्यानपावर कम्पनीलाई सर्कुलर जारी गरिएको थियो। आइतबार राति १२ बजेसम्म प्रक्रिया पूरा भएका श्रमिकको उडान गरिएपछि त्यसपछिका सबै उडान रोक्ने निर्णय भएको उनले बताए।
श्रम मन्त्रालयको टोलीसँग शुक्रबार भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको सङ्घको भनाइ छ। मन्त्रालयस्तरीय छलफल भए पनि मन्त्रिस्तरमा वार्ता नभएको र सरकारले आफूहरूका समस्यालाई प्राथमिकतामा नराखेको सङ्घले आरोप लगाएको छ।
सङ्घका महासचिव हीराबहादुर डाँगीले जारी गरेको विज्ञप्तिमा आन्दोलनलाई व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियानका रूपमा उल्लेख गरिएको छ। मागको ठोस सम्बोधन, निर्णय र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता वा स्थगित नगर्ने सङ्घले जनाएको छ।
यद्यपि सङ्घले सरकारसँग वार्ताका लागि ढोका खुला रहेको जनाएको छ। तर, सरकारले ठोस कदम नचालेसम्म काममा नफर्कने उसको अडान छ।
सङ्घले आफ्ना सदस्य संस्थालाई निर्णयविपरीत लुकिछिपी वा वैकल्पिक माध्यमबाट कार्यालय सञ्चालन नगर्नसमेत निर्देशन दिएको छ। निर्णय अवज्ञा गरी काम सञ्चालन गर्ने संस्थालाई भविष्यमा सङ्घबाट प्राप्त हुने सहयोग तथा संरक्षणबाट वञ्चित गर्नुका साथै आगामी समीक्षा भेलाबाट कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ।


प्रतिक्रिया