काठमाडौं-नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपीजी ग्यास सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेता तथा वितरकमाफर्त नियमित प्रक्रियाअनुसार बिक्री-वितरण हुने जनाएको छ।
निगमले सूचना जारी गर्दै उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास बिक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास बिक्री-वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन उद्योग तथा बिक्रेताका लागि विभिन्न व्यवस्था गरिएको निगमले जनाएको छ।
व्यवस्थाअनुसार ग्यास उद्योगहरूले दैनिक बिक्री गर्ने बिक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र उपलब्ध सिलिन्डरको संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेसम्म निगमलाई उपलब्ध गराउनुपर्नेछ।
त्यस्तै, बिक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरसहितको विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित उद्योगलाई बुझाउनुपर्नेछ। उद्योगहरूले उक्त विवरण सोही दिन निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
निगमले ग्यास बिक्री गर्दा अत्यावश्यक घरायसी प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकता दिन आग्रह गरेको छ। ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षाका लागि आवश्यक सहजीकरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ।
यसैगरी, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीले ग्यास वितरण कार्यको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
नजिकका बिक्रेताबाट कुनै कारणवश ग्यास प्राप्त गर्न नसकेका तथा तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले निगमको क्वीक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन्। त्यसका लागि निगमले ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर सार्वजनिक गरेको छ।
निगमले ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउन जारी गरिएका व्यवस्थाको पालना गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन सम्बन्धित उद्योग, बिक्रेता तथा वितरकलाई आग्रह गरेको छ।


प्रतिक्रिया