अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ: ‘चार महिनामा कायापलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस्’

मतदातालाई गृहमन्त्री गुरुङको जवाफ: ‘चार महिनामा कायापलट गर्न सक्दिनँ, भोट फिर्ता लैजानुस्’


काठमाडौं-गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित गृहमन्त्री सुधन गुरुङसँग शहीद लखन गाउँपालिका-९ का स्थानीयवासीले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न माग गरेका छन्।

आइतबार स्थानीयवासीसँगको अन्तर्क्रियाका क्रममा उनीहरूले चुनावका बेला गाउँमा ल्याब सञ्चालनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता स्मरण गराउँदै त्यसअनुसार बजेट किन नआएको भन्दै प्रश्न गरेका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वडा सचिव खोपेन्द्र लामिछानेले निर्वाचनका क्रममा गृहमन्त्री गुरुङले ल्याबका लागि बजेट छुट्याउने प्रतिबद्धता जनाएको स्मरण गराएका थिए। गृहमन्त्री गुरुङले आफूले त्यस्तो प्रतिबद्धता जनाएको स्वीकार गर्दै योजनाको सूची मागिएको र प्राथमिकताका आधारमा काम अघि बढिरहेको बताएका थिए।

स्थानीयवासीले प्रतिबद्धताअनुसार बजेट नआएको भन्दै दबाब दिएपछि गृहमन्त्री गुरुङले सरकार गठन भएको चार महिनामै विकासको कायापलट गर्न नसकिने बताए। उनले साना–साना योजना बजेटको किताबमा समेट्दा बजेटको आकार ठूलो हुने भन्दै स्थानीय तहबाट योजनाको सूची मागिएको बताए।

‘चार महिनामा बल्ल पहिलो बजेट हाम्रो आएको छ। चार महिनामा त फेरि कायापलट गर्न म सक्दिनँ, भोट लिएर जानुस्,’ गृहमन्त्री गुरुङले भने।

त्यसपछि एक सहभागीले आफूहरूले जिताएर पठाइसकेको भन्दै यस्तो कुरा निर्वाचनकै बेला बताउनुपर्ने बताएका थिए।

जवाफमा गृहमन्त्री गुरुङले आफू स्पष्ट कुरा गर्ने व्यक्ति भएको दाबी गर्दै आफूलाई विश्वास गर्न नसक्ने भए निर्वाचनमा नजिताउन आफूले पहिल्यै भनेको स्मरण गराए।

‘मैले त भनेको हुँ, म स्पष्ट मान्छे हुँ। मलाई तपाईंहरूले विश्वास गर्न सक्नुहुन्न भने मलाई नजिताउनुस्। मलाई पाँच वर्ष काम गर्न दिनुस्,’ उनले भने।

गृहमन्त्री गुरुङले चार महिनामै सबै कामको प्रतिफल खोज्न नहुने बताए। उनले आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता पूरा गर्न काम गरिरहेको र योजनाहरू प्राथमिकताका आधारमा अघि बढाइरहेको दाबी गरे।

गृहमन्त्री गुरुङले हरेक महिना गृहजिल्ला पुगेर मतदातासँग भेटघाट गर्ने पूर्वघोषित कार्यक्रमअनुसार शनिबार भीमसेन थापा गाउँपालिका र आइतबार शहीद लखन गाउँपालिकाका स्थानीयसँग छलफल गरेका थिए।

शहीद लखन गाउँपालिका–९ को कार्यक्रममा वडाध्यक्ष रामकुमार श्रेष्ठ, रास्वपा वडा सचिव खोपेन्द्र लामिछानेसहित स्थानीयवासी सहभागी थिए। गृहमन्त्री गुरुङ र स्थानीयबीच भएको प्रश्न–जवाफको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ भने उनको ‘भोट फिर्ता लैजानुस्’ भन्ने अभिव्यक्तिलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन्।