अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको मृत्यु

ट्रकको ठक्करबाट एमाले नेतृ सापकोटाको मृत्यु


कैलाली-कैलालीमा ट्रकको ठक्करबाट नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सल्लाहकार समिति सदस्य साबित्रा सापकोटाको मृत्यु भएको छ।

बर्दगोरिया गाउँपालिका-१ स्थित मुडा पुल नजिकै सोमबार बिहान सापकोटा सवार स्कुटरलाई ट्रकले ठक्कर दिएको हो। सापकोटा से १–०१–००१ ख नम्बरको स्कुटरमा सवार थिइन्।

नवलपरासी बर्दघाटका २६ वर्षीय दिनेश गिरीले चलाएको लु १–०१–०१० प ००४५ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी सापकोटालाई उपचारका लागि दोदोधरा अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार दुर्घटनापछि फरार भएका ट्रक चालक गिरीलाई महेन्द्र राजमार्गअन्तर्गत बर्दगोरिया गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमाबाट नियन्त्रणमा लिइएको छ।

सापकोटा २०७४ सालको स्थानीय तह निर्वाचनमा बर्दगोरिया गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेका तर्फबाट उम्मेदवारसमेत बनेकी थिइन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।