काठमाडौं-गीतकार तथा जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको साहित्यकार तथा चलचित्र समीक्षक प्रकाश सायमीले जानकारी दिए ।
केही समयदेखि बिरामी रहेका श्रेष्ठ पछिल्लो ६ दशकदेखि निरन्तर साहित्य सिर्जनामा सक्रिय थिए । उनले नेपाल भाषासँगै नेपाली भाषामा कविता, गीतलगायत साहित्यका विभिन्न विधामा कलम चलाएका थिए । नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि उनलाई ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो । उनका नेपाल भाषामा एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।
सन् १९३५ (वि.सं. १९९२) मा काठमाडौंको एक निम्न–मध्यमवर्गीय नेवार परिवारमा जन्मिएका श्रेष्ठले पद्मोदय माध्यमिक विद्यालयबाट विद्यालय तहको शिक्षा हासिल गरेका थिए । उनले सन् १९४९ बाट साहित्यिक लेखन यात्रा सुरु गरेका थिए । उनको पहिलो कविता ‘दुई थोपा’ सन् १९५२ मा ‘सुस्केरा’ पत्रिकामा प्रकाशित भएको थियो ।
श्रेष्ठले साहित्य क्षेत्रमा पुर्याएको योगदानबापत नरोत्तमदास–इन्दिरा पुरस्कार, अभियान पुरस्कार, नूर–गंगा पुरस्कार, राष्ट्रिय बाल साहित्य पुरस्कार, जेएए सर्वश्रेष्ठ नाटककार पदक (१९९१), हरिहर शास्त्री–सावित्री देवी साहित्य पुरस्कार (२००६) लगायत थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । सन् १९९५ मा उनी नेपाल प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्य नियुक्त भएका थिए भने सन् २०१० मा उनलाई जगदम्बा श्री पुरस्कार प्रदान गरिएको थियो ।
श्रेष्ठले लेखेको ‘फूलको आँखामा फूलै संसार’ गीत निकै चर्चित छ । गायिका आनि छोइङ डोल्माको स्वरमा रहेको उक्त गीत नेपाली संगीत क्षेत्रमा लोकप्रिय मानिन्छ ।
परिवारका सदस्य विदेशबाट आउनुपर्ने भएकाले श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार मात्र सार्वजनिक स्थानमा राखिने भएको छ । त्यसपछि उनको अन्तिम संस्कार गरिने साहित्यकार सायमीले जानकारी दिए ।


प्रतिक्रिया