काठमाडौँ–नेकपा (एमाले) बागमती प्रदेशमा मुख्यमन्त्री चयनका विषयमा सहमति जुटेको छ। पार्टी नेतृत्वको पहलमा भएको छलफलपछि भक्तपुरका प्रदेश सांसद किरण थापालाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने र जगन्नाथ थपलियालाई प्रदेश संसदीय दलको नेतामै निरन्तरता दिने सहमति भएको हो।
मंगलबार एमाले सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, राजन भट्टराईसहितका नेताहरूको छलफलपछि यस्तो सहमति जुटेको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिए। त्यसपछि हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई दलको नेताबाट नहटाउने र थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो।
बैठकमा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, प्रदेश उपाध्यक्ष दावा दोर्जे लामालगायत नेताहरू सहभागी थिए।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिसकेका छन्। दाबी पेस गर्ने समय बिहीबार अपराह्न ४ बजेसम्म तोकिएको छ।
एमाले–नेकपा गठबन्धनसँग हाल ५१ सांसद रहेकाले सरकार गठनका लागि थापालाई थप दुई सांसदको समर्थन आवश्यक पर्नेछ। एमालेभित्रको विवाद समाधान भएसँगै बहुमत जुटाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सँग छलफल गर्ने तयारी रहेको मुख्यमन्त्रीका प्रस्तावित उम्मेदवार थापाले बताएका छन्।


प्रतिक्रिया