हेटौँडा-बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का किरण थापामगरले दाबी पेस गरेका छन्। उनले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गरेका हुन्।
थापाले एमालेका २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। १०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।
थापाको दाबीका लागि एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, राप्रपा नेता उद्धव थापा र नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले समर्थन पत्रमा हस्ताक्षर गरेका छन् ।
एमाले–नेकपा गठबन्धनबीच भएको भागबण्डाअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो । एमालेले मंगलबार थापामगरलाई मुख्यमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरेको थियो । राप्रपाको समर्थन जुटेसँगै गठबन्धनलाई सरकार गठनका लागि आवश्यक बहुमत पुगेको हो।
यसअघि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुख देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । दाबी पेस गर्ने समय भदौ ४ गते अपराह्न ४ बजेसम्म तोकिएको छ ।
बहुमतसहित दाबी पेस भएकाले प्रदेश प्रमुखले थापामगरलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउनेछन् । उनलाई बुधबार नै मुख्यमन्त्री नियुक्त गरी शपथ ग्रहण गराउने तयारी रहेको जनाइएको छ।





प्रतिक्रिया