काठमाडौँ-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। भदाै ३ गते बुधबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिएका हुन्।
विश्वासको मतको पक्षमा ३१ मत र विपक्षमा १५ मत परेको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए। बैठकमा कुल ४६ जना प्रदेश सभा सदस्य उपस्थित रहेका थिए।
नेकपा एमालेको समर्थनमा २०८३ साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट विश्वासको मत लिएका हुन्। विश्वासको मत प्राप्त गरेसँगै उनको नेतृत्वमा रहेको प्रदेश सरकारलाई थप राजनीतिक वैधता र स्थायित्व प्राप्त भएको छ।
सुदूरपश्चिम प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेपछि भट्ट मुख्यमन्त्री बनेका थिए। विश्वासको मत प्राप्त गरेपछि प्रदेश सरकारका नीति तथा कार्यक्रम कार्यान्वयनमा सहजता आउने अपेक्षा गरिएको छ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेकपाका २२ सांसद छन्। यसमा सभामुख र निलम्बित सदस्यसमेत समावेश छन्।नेकपा एमालेका ११, नेपाली कांग्रेसका १७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १ सांसद छन्। प्रदेश सभाका २ पद भने रिक्त छन्।


प्रतिक्रिया