काठमाडौं-जापानको फुकुओका सहरस्थित नाकागावा नदीमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशी मृत फेला परेकी छन्।
जापानी सञ्चारमाध्यमका अनुसार यही अगस्ट १९ (भदौ ३) मा नाकागावा नदीमा राजवंशीको शव भेटिएको हो। उनी नदीमा घोप्टो परेको अवस्थामा फेला परेकी थिइन्। उनको अनुहार तथा टाउकोमा चोट लागेको अवस्थामा शव भेटिएको जनाइएको छ।
राजवंशी टी–सर्ट र छोटो पाइन्ट लगाएको अवस्थामा थिइन् भने उनको खुट्टामा जुत्ता थिएन। उनी फुकुओका सहरको चुओ वार्डमा बस्दै आएकी र त्यहाँस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत रहेको फुकुओका प्रहरीले जनाएको छ।
प्रहरीले घटनालाई दुर्घटना नभई हत्या भएको आशंका गर्दै अनुसन्धान अघि बढाएको छ। घटनाको अनुसन्धानका क्रममा जापान प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको टोकियोस्थित नेपाली दूतावासलाई उद्धृत गर्दै झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश पाठकले जानकारी दिएका छन्।
राजवंशीको घर झापाको भद्रपुर नगरपालिका–७, अन्जनी मोड रहेको सांसद पाठकले बताएका छन्।
घटनाबारे जानकारी पाएलगत्तै आफूले परराष्ट्र मन्त्रालयमार्फत आवश्यक प्रक्रिया सहजीकरण गरिरहेको पाठकले सामाजिक सञ्जालमार्फत बताएका छन्। घटनाको छानबिन, दोषीमाथि कारबाही तथा शव नेपाल ल्याउने प्रक्रियाका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालय र जापानस्थित नेपाली दूतावासले पहल गरिरहेको उनको भनाइ छ।
पाठकका अनुसार जापानस्थित नेपाली दूतावासले जापानी प्रहरीले घटनाबारे सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको जानकारी दिएको छ। उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाहीका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताएका छन्।
यद्यपि, प्रहरीले घटनाको अन्तिम निष्कर्ष सार्वजनिक गरिसकेको छैन र अनुसन्धान जारी रहेको जनाइएको छ।


प्रतिक्रिया