अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जटिल प्रसूति समस्यामा परेका चार गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

जटिल प्रसूति समस्यामा परेका चार गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार


काठमाडौँ-जटिल प्रसूति समस्यामा परेका चार गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरी सुरक्षित रूपमा अस्पताल पुर्‍याइएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालन गर्दै आएको हवाई उद्धार कार्यक्रममार्फत उनीहरूको उद्धार गरेको हो।

मन्त्रालयका अनुसार कात्तिक २२ गते मुगुको खत्याड गाउँपालिका–९ की २० वर्षीया देवकी खड्कालाई जटिल प्रसूति समस्या देखिएपछि नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी कर्णाली प्रदेश अस्पताल, सुर्खेत पुर्‍याइएको थियो।

त्यस्तै, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाकी स्थायी बासिन्दा तथा हाल हुम्लाको सिमकोटमा बस्दै आएकी २० वर्षीया सरिता बोहराको पनि हवाई उद्धार गरिएको छ। उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत लगिएको मन्त्रालयले जनाएको छ।

यसैगरी, गोरखाको चुमनुब्री गाउँपालिका–३, सिर्दिवासका ३१ वर्षीया सुन्तली गुरुङ र २३ वर्षीया सुप्रिया गुरुङलाई हवाई उद्धार गरी काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याइएको छ।

भौगोलिक विकटता तथा स्वास्थ्य सेवामा सहज पहुँचको अभावका कारण जटिल प्रसूति समस्यामा परेका महिलालाई समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

मन्त्रालयका अनुसार कार्यक्रमको मुख्य उद्देश्य जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा गर्नुका साथै सुरक्षित मातृत्व प्रवर्द्धन र आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा गर्नु हो।