काठमाडौं-सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ।
सरकारको २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाशप्राप्त हुन्। उनी यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशक थिए। २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट उनी कोषको कार्यकारी निर्देशकमा छनोट भएका थिए।
नेपाल राष्ट्र बैंकबाहेक नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरेको अनुभव पनि कार्कीसँग छ।
कार्कीले अष्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। उनले केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायत विषयमा अन्तर्राष्ट्रिय तालिमसमेत लिएका छन्।
वित्तीय तथा बैंकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका कार्कीले पुनः नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने भएका छन्।


प्रतिक्रिया