काठमाडौं-प्रधानमन्त्री तथा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) पार्टीको केन्द्रीय समिति बैठक छाडेर मुस्ताङतर्फ प्रस्थान गरेका छन्।
शुक्रबार बिहान सडक मार्ग हुँदै पोखरा पुगेका बालेन त्यहाँबाट मुस्ताङ जाने कार्यक्रम रहेको स्रोतले जनाएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका–धिताल अस्तामस्थित अन्नपूर्ण इको भिलेजमा उनको बसोबासको व्यवस्था समेत भइसकेको बताइएको छ।
आज बिहान ११ बजेपछि वनस्थलीस्थित घण्टीघरमा बस्ने रास्वपाको केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन, राइट टु रिकल सम्बन्धी दस्ताबेज निर्माण, साङ्गठनिक व्यवस्थापन तथा विभिन्न मनोनयनका विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकले केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख तथा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने तयारी गरेको छ।
यस्तो महत्वपूर्ण बैठकका बीच प्रधानमन्त्री शाहको अनुपस्थितिले पार्टी वृत्तमा चासो बढाएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले बैठकका एजेन्डा सार्वजनिक गरिसकेका छन् भने शाह भने बैठकमा सहभागी नहुने भएका छन्।
प्रधानमन्त्रीको मुस्ताङ भ्रमणबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन। सुरक्षा अधिकारीहरू तथा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले समेत भ्रमणको उद्देश्यबारे खुलाउन चाहेका छैनन्। सचिवालयका एक सदस्यका अनुसार भ्रमणको कुरा सत्य भए पनि यसको उद्देश्यबारे जानकारी दिन निर्देशन प्राप्त नभएको बताएका छन्।
स्रोतका अनुसार प्रधानमन्त्री शाह धादिङस्थित नेपाली सेनाको भैरव गणमा समेत पुगिसकेका छन्। यसअघि पनि बालेन पार्टीका केन्द्रीय समिति तथा संसदीय दलका बैठकहरूमा न्यून सहभागिता जनाउँदै आएका थिए।


प्रतिक्रिया