अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीले भदौ ८ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले भदौ ८ गते विश्वासको मत लिने


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८३ भदौ ८ गते सोमबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। त्यसका लागि मुख्यमन्त्री कार्कीले प्रदेशसभा सचिवालयलाई पत्राचार गरिसकेका छन्।

मुख्यमन्त्रीले सोमबार विश्वासको मत लिन लागेको प्रदेशसभा सचिवालय र मुख्यमन्त्रीको सचिवालयले पुष्टि गरेका छन्। यसअघि कार्कीले शुक्रबार नै विश्वासको मत लिने तयारी गरेका थिए। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेपछि मात्रै विश्वासको मत लिने भन्दै कार्यक्रम सोमबारका लागि सारिएको एक मन्त्रीले बताए।

विश्वासको मतको तयारीबारे प्रदेशसभा सचिवालय र सभामुखले प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइसकेका छन्। एमाले सांसद मीना श्रेष्ठका अनुसार सभामुख र सचिवालयबाट सोमबार विश्वासको मत लिने जानकारी प्राप्त भएको छ।

सोमबार नयाँ मन्त्रीहरूको शपथग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पनि आफूले चाँडै विश्वासको मत लिने बताएका थिए।

नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन २०८३ भदौ ३ गते फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराइसकेको छ। त्यसपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो।

यसैबीच, २०८३ साउन ९ गते एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच कोशी प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो। सोही सहमतिअनुसार नेपाली कम्युनिस्ट पार्टी सोमबार प्रदेश सरकारमा सहभागी भइसकेको छ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलोपटक २०८१ वैशाख ३१ गते विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभामा उपस्थित ६२ सदस्यमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।

त्यसपछि एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन बनेपछि कार्कीले २०८१ असोज २ गते दोस्रोपटक विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ सांसद सहभागी भएका थिए।

९२ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाका सभामुखसहित पाँच र जनता समाजवादी पार्टीका एक सांसद छन्। मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत प्राप्त गर्न सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थन जुटाउनुपर्नेछ।