मकवानपुर-बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भदौ ३ गते मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थापालाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते मुख्यमन्त्रीमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथ गराएका थिए।
संविधानको धारा १८८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ अनुसार मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र त्यसपछि मत विभाजन हुनेछ।
मुख्यमन्त्री नियुक्त हुँदा थापालाई नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गरी ६३ सांसदको समर्थन रहेको थियो। तर विश्वासको मत लिने दिनसम्म आइपुग्दा सत्ता समीकरण जटिल बनेको छ।
राप्रपाले मुख्यमन्त्री थापालाई विश्वासको मत नदिन, विपक्षमा मतदान गर्न, तटस्थ बस्न वा बैठकमा अनुपस्थित रहन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेको छ। राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले जारी गरेको ह्विप सोमबार दिउँसो सबै प्रदेश सभा सदस्यलाई पठाइएको हो।
१०४ सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। हाल मुख्यमन्त्री थापाको पक्षमा एमालेका २४ सांसदको मत मात्र सुनिश्चित देखिएको छ। सभामुख पद रिक्त रहेकाले बैठकको अध्यक्षता उपसभामुखले गरिरहेकी छन्। संविधानअनुसार सभाको अध्यक्षता गर्ने व्यक्तिले मतदान गर्न नपाउने भएकाले एमालेका २५ सांसदमध्ये एक जनाको मत गणना हुनेछैन।
नेकपाले भने मुख्यमन्त्रीको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ। एमाले र नेकपाका सबै सांसदले दलको निर्देशनअनुसार मतदान गरे पनि ५० मत मात्र पुग्ने भएकाले बहुमतका लागि थप तीन मत आवश्यक पर्नेछ। त्यसकारण राप्रपाको भूमिका निर्णायक बनेको छ।


प्रतिक्रिया