अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि रु. ३ करोड ३९ लाख सहयोग

कुमारी बैंकद्वारा बाढी प्रभावितका लागि रु. ३ करोड ३९ लाख सहयोग


काठमाडौं-कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले रु. ३ करोड आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड जम्मा गरेको जनाएको छ। साथै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउन करिब रु. ३९ लाख बराबरका पाँच वटा अत्याधुनिक एआई-सक्षम निगरानी ड्रोन, तीन वटा ५ केभीए क्षमताका पोर्टेबल जेनेरेटर तथा १०० वटा पावर बैंक नेपाली सेनाको नुवाकोटस्थित क्याम्पमा हस्तान्तरणका लागि पठाइएको बैंकले जनाएको छ।

हालैको बाढी तथा प्राकृतिक विपद्बाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्ला प्रभावित भएका छन्। प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गरी उक्त सहयोग प्रदान गरिएको बैंकले उल्लेख गरेको छ।

कुमारी बैंकले विपद् तथा मानवीय संकटका बेला समुदायप्रति आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताएको छ। बैंकका अनुसार यस सहयोगले प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

विपद्को यस कठिन घडीमा बैंकले प्रभावित समुदायप्रति गहिरो दुःख व्यक्त गर्दै सम्बन्धित निकायलाई राहत, उद्धार तथा पुनर्स्थापना कार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता व्यक्तिहरूको सुरक्षित खोज तथा उद्धारको कामना गरेको छ।