काठमाडौं-धादिङबाट गोसाइँकुण्ड तीर्थयात्रामा गएका आठ जना शिक्षक बुधबारदेखि सम्पर्कविहीन भएका छन्। रसुवा क्षेत्रमा आएको बाढीपछि उनीहरूसँग सम्पर्क हुन नसकेको जनाइएको छ।
धादिङ शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कृष्णकुमार श्रेष्ठका अनुसार हाल कार्यरत तीन जना र पाँच जना पूर्वशिक्षक सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुने कार्यरत शिक्षकहरूमा निलकण्ठ नगरपालिकास्थित पशुपति माध्यमिक विद्यालयका ठाकुरप्रसाद लम्साल, देउराली माध्यमिक विद्यालयकी जानुका खनाल र पाल्पा सामारी भञ्ज्याङ माध्यमिक विद्यालयका शिवहरी लम्साल रहेका छन्।
त्यसैगरी, गोसाइँकुण्ड तीर्थयात्रामा गएका धादिङका पाँच जना पूर्वशिक्षक पनि सम्पर्कविहीन भएका छन्। उनीहरूमा निलकण्ठ नगरपालिकाका तुलसी तिमिल्सेना र ईश्वरीप्रसाद तिमिल्सेना, सिद्धलेक गाउँपालिकाका हरिप्रसाद सिलवाल र घनश्याम भट्ट तथा ज्वालामुखी गाउँपालिकाका नारायणप्रसाद लम्साल रहेका छन्।
बाढीपछि सञ्चार सम्पर्क विच्छेद भएका कारण उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त हुन नसकेको बताइएको छ। सम्बन्धित निकायले सम्पर्कविहीन शिक्षकहरूको खोजी तथा अवस्थाबारे जानकारी संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।



प्रतिक्रिया