काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने तयारी भइरहेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै सरकारमाथि प्रश्न उठाएका छन्। उनले राजनीतिक गिरफ्तारीको हल्ला चलाएर अनुसन्धानका क्रममा बरामद गरिएको मोबाइलसँग जोडिएका गम्भीर प्रश्नबाट ध्यान मोड्न खोजिएको आरोप लगाएका छन्।
पौडेलले अनुसन्धानका क्रममा बरामद गरिएको इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको निजी निवासमा दुई दिनसम्म राखिएको भनिएको विषयको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्।
उनले मोबाइलको फरेन्सिक परीक्षण हुनुअघि नै प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निवासमा कसरी पुग्यो, कसको निर्देशनमा राखियो र त्यस अवधिमा ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग गरी स्क्रिनसट लिने तथा सन्देश मेटाउने काम भयो वा भएन भन्नेबारे स्पष्ट जवाफ मागेका छन्।
अनुसन्धानका क्रममा प्रहरीले बरामद गरेको डिजिटल प्रमाण प्रहरीकै नियन्त्रणमा हुनुपर्ने उल्लेख गर्दै उनले उक्त मोबाइलमा छेडछाड भएको आशंकासम्बन्धी विषयको पनि अनुसन्धान गर्नुपर्ने बताएका छन्। साथै, सम्बन्धित बिचौलियासँग प्रधानमन्त्री र उनको सचिवालयको सम्बन्ध के थियो तथा उनलाई कसले संरक्षण गरेको थियो भन्ने प्रश्नसमेत उठाएका छन्।
पौडेलले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थाको विषय उठाउँदै सरकारलाई कानुनी सल्लाहकारसँग परामर्श गर्न आग्रह गरेका छन्।
आफूमाथि उठेका प्रश्नबाट ध्यान मोड्न राजनीतिक आक्रमण र गिरफ्तारीको हल्ला चलाइएको उनको आरोप छ। उनले गगन थापा र कुमार बेनमध्ये को अनुसन्धानको दायरामा आउनुपर्ने भन्ने प्रश्न उठाउँदै दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्ने बताएका छन्।
‘सत्ता तिम्रो छ, सरकार तिम्रो छ, प्रहरी र प्रशासनमाथि प्रभाव तिम्रो छ । तर, कानुन तिम्रो होइन। न्याय तिम्रो निजी सम्पत्ति होइन,’ पौडेलले भनेका छन्। निष्पक्ष अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा सत्य सार्वजनिक नभएसम्म आफूहरूले आवाज उठाइरहने उनको भनाइ छ।
यसैबीच, आइतबार काठमाडौंको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले नागरिकको स्वतन्त्रता खोस्ने दिशामा सरकार अघि बढेको आरोप लगाएका छन्। उनले नागरिक स्वतन्त्रतालाई नियन्त्रण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै निरङ्कुश शासन व्यवस्था हाबी हुन लागेको टिप्पणी गरेका हुन्।
प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धका प्रमाण मेटाउने र आफूलाई अनुकूल हुने प्रमाण मात्रै सार्वजनिक गर्ने गरेको आरोपसमेत उनले लगाए । अहिलेको व्यवस्था ल्याउन कुनै योगदान नगरेकाहरूलाई जनताले दुईतिहाइ मत दिएको उल्लेख गर्दै पौडेलले जनमतको दुरुपयोग नगर्न सरकारलाई सुझाव दिएका छन्।
कार्यक्रममा उनले नेपाली कांग्रेसको बृहत् एकताका लागि आफूले अधिकतम प्रयास गरिरहेको पनि बताए। विधिको शासन भएको देशमा एउटै पार्टीका दुई सभापति, दुई झन्डा र दुई चुनाव चिह्न हुन नसक्ने उनको भनाइ थियो। पार्टीभित्रको विवाद समाधान गर्न विधि र प्रक्रियाको पालना हुनुपर्नेमा उनले जोड दिएका छन्।



प्रतिक्रिया