अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह


काठमाडौं-राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना प्राप्त भएको भन्दै नदी तटीय क्षेत्रका बासिन्दा, उद्धारकर्मी तथा राहतकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा शुक्रबार जारी सूचनामा भोटेकोशी तथा त्रिशूली नदीमा थप बाढी आउन सक्ने जोखिम रहेको उल्लेख गरिएको छ। भदौ १० गते ठूलो बाढी आएको क्षेत्रमा आज पुनः पानीको बहाव बढेको सूचना प्राप्त भएकाले जोखिमयुक्त क्षेत्रमा रहेका सबैलाई आवश्यक सावधानी अपनाउन र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ।

सूचनामा भनिएको छ, ‘भोटेकोशी एवं त्रिशूली नदी किनारमा उद्धार तथा राहतमा खटिनुभएका तथा विविध कारणले जोखिम क्षेत्रमा रहनुभएका सबैलाई उच्च सतर्कता अपनाउन र जोखिम देखिएमा तुरुन्त सुरक्षित स्थानमा जान विशेष अनुरोध गरिन्छ।’

यसैबीच, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले चीनसँगको सीमा क्षेत्रतर्फ नदी थुनिएर बनेको अस्थायी ताल (ब्यारियर लेक) फुटेको सूचना प्राप्त भएको बताएका छन्। उनका अनुसार चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ठूलो ताल फुटेको खबर शुक्रबार बिहान प्राप्त भएको हो।

‘माथिबाट फेरि ताल फुटेको भन्ने सूचना आएको छ। हामी सबैलाई सचेत गराउने, सन्देश पठाउने र फोनमार्फत जानकारी दिने काम गरिरहेका छौँ,’ अध्यक्ष तामाङले बताएका छन्।

विज्ञहरूका अनुसार उक्त तालमा करिब २० लाख घनमिटर पानी जमेको हुन सक्ने अनुमान गरिएको छ। तर ताल कति मात्रामा र कसरी फुटेको हो भन्नेबारे यकिन विवरण अझै प्राप्त भइसकेको छैन।

यसअघि सम्भावित बाढीको जोखिम बढेपछि चीनले तिब्बतको केरुङ सीमा क्षेत्र आसपासको उद्धार कार्य अस्थायी रूपमा स्थगन गरेको जनाएको थियो। बीबीसीका अनुसार नेपाल–तिब्बत सीमा नजिक ग्यारियोङ बन्दरगाहको माथिल्लो भागमा बनेको तालमा पानीको मात्रा बढ्दै गएपछि चिनियाँ अधिकारीहरूले उद्धार टोलीलाई काम रोक्न र करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिएका थिए।

उता, नेपाल प्रहरीले पनि चिनियाँ पक्षबाट अस्थायी ताल पुनः फुटेको सूचना प्राप्त भएको भन्दै भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ। सम्बन्धित निकायहरूले नदी आसपासका क्षेत्रमा जोखिम अझै कायम रहेकाले अनावश्यक आवतजावत नगर्न र आधिकारिक सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेका छन्।