काठमाडौं-चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेपछिको बाढी रसुवाको स्याफ्रुबेसीमा आइपुगेको छ। बाढी पुर्वानुमान महाशाखाका अनुसार, दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसीमा आइपुगेको हो।
महाशाखाका अनुसार चीनको तिब्बती क्षेत्रमा बनेको कृत्रिम ताल (ब्यारियर लेक) फुटेपछि नदीमा पानीको बहाव पुनः बढेको हो। बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा समेत देखिन सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
महाशाखाले त्रिशूली नदी किनारका रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन तथा मुग्लिनसम्मका तटीय क्षेत्रका नागरिकलाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ। नदी किनारमा अनावश्यक आवतजावत नगर्न, माछा मार्न वा अन्य गतिविधि नगर्न पनि सचेत गराइएको छ।
उद्धार तथा राहत कार्यमा खटिएका निकाय, स्थानीय तह र सुरक्षा निकायलाई समेत आवश्यक सावधानी अपनाउन भनिएको छ। सम्बन्धित निकायहरूले नदीको बहाव तथा सम्भावित जोखिमको निरन्तर निगरानी गरिरहेको जनाएका छन्।


प्रतिक्रिया