काठमाडौं-बाढी तथा पहिरोका कारण सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला पुनः राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ। काठमाडौं-टोखा-छहरे–गड्खार पुल-आप्र-नर्जा–लच्याङ-सरमथली-पाटीखर्क हुँदै बोगटीटार-कालिकास्थान–धुन्चे सडकखण्ड चारचक्के साना सवारीसाधन सञ्चालन हुने गरी सुचारु गरिएको हो।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार उक्त सडकखण्ड सञ्चालनमा आएसँगै रसुवासम्म स्थलमार्गबाट आवतजावत गर्ने बाटो खुलेको छ। सडक सञ्चालनमा आएपछि बाढी तथा पहिरोका कारण प्रभावित भएका यात्रु तथा स्थानीयवासीलाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।
बाढीका कारण रसुवामा ठूलो भौतिक क्षति पुगेको छ। मितेरी पुलदेखि रसुवाभित्र मात्रै १३ वटा पुल पूर्णरूपमा बगेका छन्। नुवाकोट र रसुवा सीमामा रहेका दुईवटा पुलसमेत बाढीले बगाएपछि रसुवा केही दिनदेखि राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएको थियो।
हाल सडक सुचारु भए पनि बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडकको अवस्था कमजोर रहेकाले मौसम र सडकको अवस्थालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाएर यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।


प्रतिक्रिया