काठमाडौं-भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना कामदार तथा कर्मचारी सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अनुसार बाढीले निर्माणाधीन तथा सञ्चालनमा रहेका १३ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ भने ११ वटा आयोजनामा कार्यरत जनशक्ति सम्पर्कबाहिर रहेका छन्।
सबैभन्दा बढी असर रसुवा जिल्लाका आयोजनामा परेको छ। रसुवाका ६ वटा आयोजनामा गरी ७३० जना सम्पर्कविहीन रहेका छन्। निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ आयोजनामा मात्रै ५७६ जनाको अवस्था अज्ञात छ। त्यसैगरी १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, २० मेगावाटको लाङटाङ खोला आयोजनाका ४२ जना, २२ मेगावाटको चिलिमे आयोजनाका ८ जना, ५ मेगावाटको मैलुङ खोला आयोजनाका ७ जना तथा निर्माणाधीन १२० मेगावाटको रसुवा–भोटेकोशी आयोजनाका ४ जना सम्पर्कमा आउन सकेका छैनन्।
नुवाकोटका पाँच वटा जलविद्युत् आयोजनामा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। त्यहाँ २०४ जना सम्पर्कविहीन रहेका छन्। निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३बी आयोजनामा १५८ जना बेपत्ता छन्। यस्तै, सञ्चालनमा रहेको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ए आयोजनाका ४२ जना, निर्माणाधीन मिडल त्रिशूली गंगा आयोजनाका २ जना, त्रिशूली जलविद्युत् आयोजनाका १ जना र देवीघाट जलविद्युत् आयोजनाका १ जना पनि सम्पर्कविहीन छन्।
सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी रहे पनि सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भइरहेको छ। हालसम्म माथिल्लो त्रिशूली–१ आयोजनामा फसेका २५४ जनाको मात्रै सकुशल उद्धार गरिएको छ।
इप्पानका अनुसार लाङटाङ खोला, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ए र चिलिमे जलविद्युत् आयोजनामा अझै ठूलो संख्यामा मानिस फसेका छन्। सडक पहुँच नहुँदा ती क्षेत्रमा तत्काल हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था रहेको संघले जनाएको छ।




प्रतिक्रिया