काठमाडौँ-रसुवाको भोटेकोशी नदीमा राति एक्कासि बढेको बाढीको बहाव अहिले क्रमशः घट्दै गएको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार राति करिब ३ बजेदेखि भोटेकोशी नदीमा बाढीको बहाव एक्कासि बढेको हो।
उनका अनुसार राति ठूलो आवाज सुनिएपछि नदीमा बाढीको बहाव बढेको जानकारी भएको थियो। ‘राति ३ बजेतिर ठूलो आवाज सुनियो। उक्त आवाजपछि भोटेकोशी नदीमा बाढीको बहाव बढेको थाहा भयो,’ उनले भने, ‘अहिले पछिल्लो समयमा भने बाढीको बहाव घट्दै गएको देखिएको छ।’
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि भोटेकोशी नदीमा पानीको बहाव बढेको जनाएको छ।
महाशाखाका अनुसार बाढीको बहाव बढे पनि रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम छैन।
महाशाखाले आइतबार बिहान पौने ६ बजे सूचना अद्यावधिक गर्दै भोटेकोशीमा पानीको बहाव बढे पनि तत्काल ठूलो बाढीको खतरा नरहेको स्पष्ट पारेको हो।


प्रतिक्रिया