सिन्धुली-सिन्धुलीको खुर्कोटस्थित सुनकोशी नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान ७:०२ बजे नदीको जलसतहले सतर्कता तह पार गरेको हो।
महाशाखाका अनुसार खुर्कोट जलमापन केन्द्रमा बिहान ६:५० बजे नदीको जलसतह ७.६९ मिटर पुगेको थियो। उक्त केन्द्रमा ७.५ मिटरलाई सतर्कता तह र ८.६ मिटरलाई खतराको तह मानिन्छ।
अविरल वर्षाका कारण सुनकोशी नदीको जलसतह अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै महाशाखाले विशेष बुलेटिन जारी गरी नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जलसतह सतर्कता तह पार गरेसँगै सिन्धुली र रामेछापका नदी तटीय तथा होचा भूभागमा डुबान र कटानको जोखिम बढेको महाशाखाले जनाएको छ।
महाशाखाले नदीको बहाव अझै बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया