अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी : ७३४ शव फेला, २ हजार ४९८ अझै बेपत्ता

भोटेकोशी बाढी : ७३४ शव फेला, २ हजार ४९८ अझै बेपत्ता


काठमाडौं-रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान ९ः०० बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै ७३४ जनाको शव फेला परेको र २ हजार ४९८ जना अझै सम्पर्कविहीन रहेको जनाएको छ।

प्राधिकरणका अनुसार बाढीका कारण चितवनमा सबैभन्दा बढी २५९, नवलपरासी पूर्वमा १८४, रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोर्खामा ५८, नवलपरासी पश्चिममा ८२ तथा तनहुँमा ३६ जनाको शव फेला परेको छ।

बाढीका कारण सुरक्षाकर्मी, जलविद्युत् आयोजनाका कर्मचारी तथा विदेशी पर्यटकसहित कुल २४९८ जना सम्पर्कविहीन छन्। जसमा नेपाल प्रहरीका २७, नेपाल सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमनका ४, जलविद्युत् आयोजनाका ९३३, रसुवाका ५६२ र नुवाकोटका ११५ जना रहेका छन् ।

यसैगरी, ५८९ जना विदेशी नागरिक र उनीहरूसँगै घुम्न गएका १२७ जना नेपाली पनि बेपत्ता रहेका छन्। घटनामा २४२ जना घाइते भएका छन्, जसमध्ये केहीको उपचार भइरहेको छ भने केही डिस्चार्ज भइसकेका छन्। बाढी प्रभावित क्षेत्रमा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा १९ हजार ८९५ जना सुरक्षाकर्मी (नेपाल प्रहरी ७ हजार २९३, नेपाल सेना ८ हजार ३९९ र सशस्त्र प्रहरी ४ हजार २०३) खटाइएको छ। सुरक्षा निकायले हालसम्म ८ हजार १८६ जनाको सफलतापूर्वक उद्धार गरेका छन्, जसमा नेपाली सेनाले २ हजार ९७४, नेपाल प्रहरीले २ हजार ६९९ र सशस्त्र प्रहरीले २ हजार५१३ जनाको उद्धार गरेका हुन् । जलविद्युत्को सुरुङबाट आज बिहान १९१ जना र भदौ १३ गते ८८ जना गरी कुल २७९ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

यस्तै, २२७ जना विदेशी नागरिकको पनि हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत वितरण गरेको छ। साथै, ३७ ट्रक तथा ७ वटा हेलिकोप्टर उडानमार्फत खाद्य र गैरखाद्य सामग्री र सञ्चार सेटहरू प्रभावित क्षेत्रमा पठाइएको छ।

नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा ३६ हजार लिटर डिजेल र २४ हजार लिटर पेट्रोल मौज्दात रहेको छ।

यस्तै, १४ हजार लिटर हवाई इन्धन मौज्दात रहेको र २५ हजार लिटर खपत भएको जनाइएको छ।

शवहरूको पहिचानका लागि २१ अस्पतालमा राखिएको छ। पहिचान नखुलेका शव र बेपत्ताको विवरण प्राधिकरणको आधिकारिक फेसबुक पेज तथा नेपाल प्रहरीको वेबसाइटबाट हेर्न सकिनेछ।