काठमाडौं-रसुवाको भोटेकोशी आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धार प्रयास जारी रहेको सरकारी उद्धार टोलीले जनाएको छ।
गएरातिदेखि नै उद्धार टोलीले सुरुङ क्षेत्रमा निरन्तर काम गरिरहेको छ। आइतबार बिहान खराब मौसम र बाढीका कारण केही समय उद्धार कार्य प्रभावित भए पनि मौसममा सुधार आएपछि पुनः उद्धार अभियान सञ्चालन गरिएको हो।
उद्धार टोलीका अनुसार हालसम्म सुरुङतर्फ करिब ८ मिटर ड्रिलिङ गरी सुरुङको क्राउनसम्म पुगिएको छ। चारवटा प्वाल ड्रिल भइसकेका छन् भने पाँचौँ प्वाल ड्रिल गर्ने काम भइरहेको छ।
सुरुङभित्र रहेका व्यक्तिसम्म हावा पुर्याउने प्रयासस्वरूप एयर कम्प्रेसरमार्फत अक्सिजन पठाइसकिएको टोलीले जनाएको छ। त्यस्तै, ड्रिलमार्फत सुरुङभित्र सन्देश पठाउने प्रयास गरिएको भए पनि हालसम्म भित्रबाट कुनै जवाफ प्राप्त हुन सकेको छैन।
उद्धार टोलीले सुरुङभित्र रहेका व्यक्तिको अवस्था पत्ता लगाउन प्रकाश तथा ध्वनि संकेत पठाउने प्रयाससमेत गरिरहेको छ। सुरुङको वास्तविक अवस्था पहिचान गर्न एक्स्काभेटरलगायतका उपकरण प्रयोग गरी खन्ने काम पनि जारी छ।
उद्धार कार्यलाई तीव्रता दिन थप ड्रिलिङ तथा आवश्यक प्रविधि र उपकरण प्रयोग भइरहेको छ। निरन्तर उद्धार अभियान सञ्चालनका लागि आवश्यक इन्धन, मेसिन तथा उपकरण र थप जनशक्ति आइतबार बिहानै घटनास्थलमा परिचालन गरिएको सरकारी टोलीले जनाएको छ।
सरकारी उद्धार टोलीले सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाई सुरक्षित रूपमा बाहिर निकाल्न विभिन्न प्रविधि र वैकल्पिक उपायबाट प्रयास गरिरहेको जनाएको छ। उद्धारका क्रममा बाढी र प्रतिकूल मौसम चुनौती बने पनि अभियानलाई निरन्तरता दिइएको छ।


प्रतिक्रिया