हेटौँडा–काठमाडौं सडकमा सवारीसाधनको चाप बढेपछि स्थानीय प्रशासनले आजदेखि साना यात्रुवाहक सवारीसाधनका लागि आउँदा र जाँदा फरक–फरक मार्ग प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ।
नयाँ व्यवस्थाअनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन हेटौँडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानुपर्नेछ। काठमाडौंबाट हेटौँडा फर्किने सवारीले भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी मार्ग प्रयोग गर्नुपर्नेछ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र काठमाडौंबाट फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधनको चाप बढेको हो।
सवारी चाप व्यवस्थापन गर्न लागू गरिएको नयाँ रुट प्रणालीले वैकल्पिक सडकमा हुने जाम तथा लामो समयसम्म सवारीसाधन रोकिराख्नुपर्ने अवस्था कम हुने प्रशासनको अपेक्षा छ।


प्रतिक्रिया