सुर्खेत-कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका लागि दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्णाली प्रदेश सरकारका तर्फबाट दुई करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।
गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी निकाय तथा संघसंस्थाले सहयोग गर्दै आएका छन् ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले सामाजिक विकास मन्त्रालयले तयार गरेको शिक्षा क्षेत्र योजना २०८३–२०९२ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
बैठकले शिक्षा क्षेत्रको दीर्घकालीन विकास, गुणस्तर सुधार तथा योजनाबद्ध रूपमा शैक्षिक कार्यक्रम अघि बढाउन तयार पारिएको उक्त योजना स्वीकृत गरेको हो ।


प्रतिक्रिया