अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ५८ जनाको शव फेला

भोटेकोशी बाढी अपडेट: हालसम्म १ हजार ५८ जनाको शव फेला


काठमाडौं-रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ। नेपाल प्रहरी र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को पछिल्लो विवरणअनुसार हालसम्म १ हजारभन्दा बढी शव फेला परिसकेका छन्।

नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म १ हजार ५८ जनाको शव फेला परेको छ। फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष तथा ३९० आंशिक अंग रहेका शव छन्। तीमध्ये ९७२ शवको लास जाँच मुचुल्का प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। हालसम्म ५८ शव आफन्तलाई हस्तान्तरण गरिएको छ भने पहिचान नखुलेका ६८४ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको छ।

यता, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिउँसो १ बजेसम्मको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेको संख्या १ हजार ३ पुगेको छ। प्राधिकरणका अनुसार सबैभन्दा बढी चितवनमा ३२१ जनाको शव फेला परेको छ। त्यसपछि पूर्वी नवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

बाढीमा परी २७९ जना घाइते भएका छन्। घाइतेमध्ये १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्राधिकरणका अनुसार हालसम्म ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन् भने ११ हजार ८८४ जनाको सकुशल उद्धार गरिएको छ।

उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाइएको भए पनि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ। सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायहरू प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका कार्यमा जुटिरहेका छन्।