अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृष्णभीरमा ट्र्याक निर्माण सुरु

कृष्णभीरमा ट्र्याक निर्माण सुरु


काठमाडौं-पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर क्षेत्रमा वैकल्पिक ट्र्याक निर्माणको काम सुरु गरिएको छ। सडक विभागले शुक्रबारदेखि पहाड काटेर ट्र्याक खोल्ने कार्य थालेको हो।

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेश पौडेलका अनुसार ट्र्याक निर्माणका लागि सडकको दुवै तर्फबाट दुई वटा उपकरण प्रयोग गरी पहाड काट्ने काम भइरहेको छ। हालसम्म करिब ५० मिटर ट्र्याक निर्माण सम्पन्न भइसकेको उनले बताए।

उनका अनुसार अहिले निर्माण भइरहेको ट्र्याक सवारीसाधन सञ्चालनका लागि नभई निर्माण उपकरण प्रवेश गराउने उद्देश्यको हो। काम जारी रहेकाले निर्माण सम्पन्न हुन लाग्ने समय यकिन गर्न नसकिने उनले बताए।

२०८३ भदौ १४ गते त्रिशूली नदीको बहावले सडकको जग बगाउँदा करिब १०० मिटर सडक भासिएको थियो। सडकलाई घुमाउरो बनाउँदै पुनः सञ्चालनमा ल्याउन २०० देखि २५० मिटरसम्म ट्र्याक निर्माण गर्नुपर्ने हुन सक्ने विभागको अनुमान छ। निर्माणका क्रममा चट्टान भेटिन थालेकाले काम अपेक्षित गतिमा अघि बढ्न नसकेको पनि पौडेलले जानकारी दिए।

कृष्णभीरमा सडक भासिएपछि राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने मुख्य लाइफलाइन अवरुद्ध भएको छ। हाल काठमाडौं भित्रिने तथा बाहिरिने सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन्।

वैकल्पिक सडकमा सवारीको चाप बढ्दा यात्राको अवधि लम्बिएको छ भने यात्रुहरूले थप सास्ती व्यहोर्नुपरेको छ।