अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा एक जनाको शव फेला

रसुवा भोटेकोशी जलविद्युत आयोजनाको सुरुङमा एक जनाको शव फेला


काठमाडौं-रसुवा जिल्लामा रहेको १२० मेगावाट क्षमताको रसुवा-भोटेकोशी जलविद्युत आयोजनाको सुरुङभित्र एक जनाको शव फेला परेको छ।

नेपाली सेनाका अनुसार भोटेकोशी बाढीपछि आयोजनाको सुरुङभित्र हराइरहेका व्यक्तिहरूको खोजी गर्ने क्रममा मंगलबार एक जनाको शव फेला परेको हो।

संयुक्त उद्धार टोलीले आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा शव भेटिएको सेनाले जनाएको छ। बाढीपछि उक्त आयोजनामा कार्यरत चार जना कर्मचारी सम्पर्कविहीन रहेका थिए।

नेपाली सेनाले आयोजनाका विभिन्न सुरुङ तथा प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। सेनाका अनुसार प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता व्यक्तिको खोजी तथा जोखिम व्यवस्थापनका गतिविधि पनि जारी छन्।

भोटेकोशी बाढीले रसुवा–नुवाकोट क्षेत्रका जलविद्युत आयोजना, सडक तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुर्‍याएको छ। बेपत्ता व्यक्तिहरूको खोजीका लागि सुरुङभित्र ड्रोन, प्राविधिक उपकरण र उद्धारकर्मी परिचालन गरिएको सेनाले जनाएको छ।