अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढीका मृतक र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय

भोटेकोशी बाढीका मृतक र बेपत्ताका सन्तानलाई उच्च शिक्षासम्म निःशुल्क छात्रवृत्ति दिने निर्णय


काठमाडौँ-शिक्षा तथा खेलकुद मन्त्रालयले १० भदौको विनाशकारी भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहदेखि उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

मन्त्रीस्तरीय निर्णयअनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने भएको छ। त्यसपछि लाभग्राही विद्यार्थीको पहिचान गर्दै विभिन्न चरणमा थप विद्यार्थीलाई समेत छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयले यसअघि नै ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना सञ्चालन निर्देशिका, २०८३’ स्वीकृत गरी बाढीमा अभिभावक गुमाएका वा बेपत्ता भएका व्यक्तिका सन्तानलाई विद्यालय तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रक्रिया कार्यान्वयनमा ल्याइसकेको छ । सोही व्यवस्थालाई थप विस्तार गर्दै उच्च शिक्षामा समेत पूर्ण छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

‘पहिलो चरणमा २७ जनालाई छात्रवृत्ति दिइनेछ। यसपछि पनि क्रमशः पहिचान गर्दै चरणबद्ध रूपमा छात्रवृत्ति उपलब्ध गराउनेछौँ,’ मन्त्री पोखरेलले भने।

मन्त्रालयका अनुसार निजी विद्यालयमा अध्ययनरत बालबालिकाको विवरण शिक्षा विभागले अभिलेखमा राख्नेछ । त्यसका लागि सम्बन्धित विद्यालयका छाता संस्था र स्थानीय तहलाई पत्राचार गरिनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका हकमा भने सम्बन्धित स्थानीय तहलाई पत्राचार गरी आवश्यक व्यवस्था मिलाइनेछ ।

त्यसैगरी उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालय तथा क्याम्पसमा नियमित रूपमा उपलब्ध हुने छात्रवृत्ति कोटामा थप गरी समावेश गर्न मन्त्रीस्तरीय निर्णयबाट निर्देशन दिइएको छ । यसका लागि मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगमार्फत आवश्यक व्यवस्था मिलाउनेछ ।

यो निर्णय कार्यान्वयनमा आएसँगै भोटेकोशी बाढीमा अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले आफूले चाहेको विषयमा उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्ने अवसर पाउनेछन् । यसले विपद्बाट प्रभावित बालबालिकाको शिक्षा निरन्तरता र भविष्य सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।