काठमाडौं-भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार ३६७ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३६७ जनाको शव फेला परेको हो।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा ३६३ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पश्चिममा २२२, नवलपरासी पूर्वमा २२६, नुवाकोटमा १९७, रसुवामा १७४, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
काठमाडौंमा उपचाररत दुई जनाको समेत मृत्यु भएको प्राधिकरणले जनाएको छ।
हालसम्म फेला परेका शवमध्ये १०२ जनाको सनाखत गरी आफन्तलाई बुझाइएको छ। बाँकी शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया जारी रहेको जनाइएको छ।
यसैबीच, बाढीपछि अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेका छन्। प्राधिकरणका अनुसार करिब ५ हजार १३२ जना अझै सम्पर्कविहीन छन्।
बाढीबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक र सम्पर्कविहीनको संख्या अझै बढ्न सक्ने प्राधिकरणले जनाएको छ।


प्रतिक्रिया