मुस्ताङ-पछिल्लो २४ घण्टामा मुस्ताङको लोमान्थाङ क्षेत्रमा सात पटक भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित बनेका छन्। निरन्तरको कम्पनले ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको लोमान्थाङमा व्यापक भौतिक क्षति पुगेको छ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हूर्बू गुरुङका अनुसार सदियौँ पुराना माटोका संरचनाले भरिएको बस्तीका अधिकांश घर चर्किएका छन्। गाउँपालिकाभित्रका करिब सबैजसो घरमा चिरा परेको र ५० प्रतिशतभन्दा बढी घर तत्काल बस्न नमिल्ने गरी उच्च जोखिममा पुगेको उनले बताए।
‘पुराना र नयाँ कुनै संरचना बाँकी रहेनन्, धेरैजसो घरहरू चर्किएका छन्,’ अध्यक्ष गुरुङले भने, ‘यदि थप ठूलो पराकम्पन आयो भने धेरै घर गर्ल्यामगुर्लुम ढल्ने अवस्था छ।’
गाउँपालिकाका अनुसार २० देखि ३० प्रतिशत घर पूर्ण रूपमा बस्न अयोग्य बनेका छन् भने करिब ५० प्रतिशत घरमा मध्यमदेखि गम्भीर क्षति पुगेको अनुमान गरिएको छ। यद्यपि हालसम्म मानवीय तथा चौपायाको क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
क्षतिको यकिन विवरण सङ्कलन गर्न प्राविधिक टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको संयुक्त टोली प्रभावित क्षेत्रमा खटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालले जानकारी दिए। उनका अनुसार जनप्रतिनिधि, कर्मचारी, प्राविधिक तथा सुरक्षा निकायका प्रतिनिधिहरू वडा-वडामा पुगेर मुचुल्का उठाउने र क्षतिको मूल्याङ्कन गर्ने काममा जुटेका छन्।
माटोले बनेका परम्परागत तथा ऐतिहासिक संरचना भएकाले थप पराकम्पन आएमा बाँकी घरहरू पनि भत्किने जोखिम उच्च रहेको स्थानीय प्रशासनले जनाएको छ।
गाउँपालिकाले क्षतिको वास्तविक विवरण सङ्कलन भइरहेको र त्यसबारे जिल्ला प्रशासन कार्यालय तथा प्रदेश र संघीय सरकारलाई जानकारी गराइसकेको जनाएको छ।


प्रतिक्रिया