अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुशे औँसी: गोकर्णेश्वरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो 

कुशे औँसी: गोकर्णेश्वरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो 


काठमाडौं-भाद्रकृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनका अवसरमा आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको ठूलो घुइँचो लागेको छ।

दिवङ्गत बाबुको स्मरणमा तर्पण, पिण्डदान तथा सिदादान गर्न बिहानैदेखि काठमाडौँसहित देशका विभिन्न भागबाट आएका श्रद्धालुहरूको गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो। भक्तजनहरू बागमती नदीमा स्नान गरी पितृको आत्मशान्तिको कामना गर्दै विधिपूर्वक तर्पण, पिण्डदान तथा श्राद्ध गरिरहेका छन्।

काठमाडौँको उत्तरपूर्वी भेगमा अवस्थित गोकर्णेश्वर क्षेत्रलाई धार्मिक रूपमा ‘उत्तरगया’का रूपमा समेत मानिन्छ। यही कारण भाद्रकृष्ण औँसीका दिन यहाँ विशेष मेला लाग्ने र ठूलो सङ्ख्यामा श्रद्धालुहरू पुग्ने गर्छन्। गोकर्णेश्वरमा गरिने पितृकार्यले दिवङ्गत पितृहरूको उद्धार तथा मोक्ष हुने धार्मिक विश्वास रहँदै आएको छ।

कुशे औँसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने परम्परा पनि छ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलिएको कुश घरमा राख्दा परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभरि प्रयोग गर्न सकिने मान्यता रहेको छ।

यसै दिन छोराछोरीले जीवित बाबुलाई आफूलाई मन पर्ने मिठाई तथा भोजन खुवाएर आदर–सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने चलन छ। बाबु दिवङ्गत भइसकेकाहरूले भने गोकर्णेश्वरलगायत विभिन्न तीर्थस्थलमा पुगेर बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा छ।

कुशे औँसीलाई ‘बाबुको मुख हेर्ने दिन’का रूपमा समेत मनाइने भएकाले आज जीवित बाबुलाई सम्मान गर्ने र दिवङ्गत बाबुको सम्झनामा पितृकार्य गर्ने दुवै परम्परा एकैसाथ देखिएको छ। गोकर्णेश्वर मन्दिर परिसरमा बिहानैदेखि लागेको भक्तजनको भीडले यस पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप उजागर गरेको छ।