अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृष्णभीर सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी

कृष्णभीर सडक तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी


काठमाडौँ-त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ। अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ।

सडक पुनः सञ्चालनका लागि आवश्यक उपकरण र निर्माण व्यवसायीको टोली परिचालन गरी काम तीव्र पारिएको अधिकारीले बताइन्। उनका अनुसार कामको आवश्यकताअनुसार दैनिक उपकरणको संख्या घटबढ भइरहेको छ। केही दिनमा १२ वटासम्म उपकरण परिचालन गरिएको थियो।

शनिबार कटिङको काम लगभग सम्पन्न भएपछि अहिले ग्रेड सुधारका लागि दुईवटा बुलडोजर र दुईवटा एक्साभेटर प्रयोग भइरहेका छन्। ग्रेड मिलाउने काम सकिएपछि रोलर थप गरी रोलिङको काम अघि बढाइनेछ।

नयाँ ट्रयाकको सबग्रेड तयार भएपछि ग्राभेल बिछ्याउन थप दुई–तीन दिन लाग्ने अनुमान गरिएको अधिकारीले बताइन्। त्यसपछि कृष्णभीर सडकखण्डमा यातायात सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ।

अधिकारीका अनुसार बाढीका कारण भासिएको सडकको विकल्पका रूपमा निर्माण गरिएको नयाँ ट्रयाकलाई तत्काल यातायात सञ्चालन गर्न मिल्ने अवस्थामा पुर्‍याउने गरी काम भइरहेको छ।