अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गएराती कास्कीको लुम्ले र लम्जुङमा धेरै भारी वर्षा

गएराती कास्कीको लुम्ले र लम्जुङमा धेरै भारी वर्षा


काठमाडौं- गएराती गण्डकी प्रदेशकाका केही क्षेत्रमा ठूलो वर्षा भएको छ । कास्की र लमजुङमा धेरै भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको रेकर्ड अनुसार कास्कीको लुम्ले क्षेत्रको मापन केन्द्रमा २४ घण्टामा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ । मौसम विज्ञानमा यसलाई धेरै भारी वर्षा भएको भनिन्छ । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनुलाई धेरै भारी वर्षा भएको मानिन्छ भने २०० मिलिमिटरभन्दा पनि धेरै वर्षा मापन हुनुलाई अति भारी वर्षा भनिन्छ । यस्तै, ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी र १० देखि ५० मिलिमिटर वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ ।

गत २४ घण्टामा गण्डकीकै लमजुङको फलेनी मापन केन्द्रमा पनि धेरै भारी वर्षा मापन भएको छ । उक्त मापन केन्द्रमा १०९. २ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै धादिङ र गोरखाको सीमा क्षेत्रमा रहेको आरुघाट मापन केन्द्रमा ८७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ ।
आज दिउँसो र राति पनि देशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।