अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी-पहिरोका कारण सडकखण्ड अवरुद्ध

बाढी-पहिरोका कारण सडकखण्ड अवरुद्ध


काठमाडौँ-बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको विवरणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको छ।

कोशी प्रदेशअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।

बागमती प्रदेशमा सबैभन्दा बढी सडक प्रभावित छन्। काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ। १० टनसम्मका मालवाहक सवारीलाई राति सञ्चालन गर्न दिइने र मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारीलाई तोकिएको समयमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ। त्यस्तै नुवाकोटका विभिन्न स्थानमा बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएका छन्। मुख्य राजमार्ग तथा पासाङल्हामु सडकखण्डमा समेत यातायात प्रभावित भएको छ।

नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्डमा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।

धादिङमा पृथ्वी राजमार्गका विभिन्न खण्ड पनि पहिरोका कारण प्रभावित छन्। बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ भने सोही गाउँपालिकाका अन्य स्थानमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा छ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सडक मर्मतका कारण गाडीको चाप हेरी एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

त्यस्तै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा अरनिको राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको विभागले जनाएको छ।

गण्डकी प्रदेशअन्तर्गत मनाङको नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा बाटो निर्माणका कारण सवारी सञ्चालन प्रभावित भएको छ। सडक विभागका अनुसार उक्त खण्डमा साना सवारी साधन बन्द रहने र ठूलो सवारीका लागि समेत तोकिएको समयसम्म सडक बन्द रहने व्यवस्था गरिएको छ।