इनरुवा-इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी इनरुवा–३ का दुई युवाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इनरुवा–३ निवासी २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सीमामा रहेको कल्भर्टमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिन ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा दुवै जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी थिए । उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वकीय सचिवका रूपमा कार्यरत थिए । अर्का मृतक थापा पनि केही समयअघिसम्म जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत रहेको र केही समयअघि राजीनामा दिएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


प्रतिक्रिया